असोज ३ गते कालोदिन मनाउने राजपा नेपालको निर्णय , कुन नेता कहाँ जाने ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज ३ गते कालो दिवस मनाउने भएको छ । प्रदेश २ मा सिमित रहेको सो पार्टीले नेपालको संविधान दिवसको दिन अर्थात असोज ३ गते कालो दिवस मनाउन प्रदेश नम्बर १, ५ र ७ मा जाने निर्णय गरेको हो ।

ती प्रदेशमा चुनाव समेत बहिष्कार गरेको राजपा नेपाल धेरै पछि त्यो प्रदेशमा जान लागेको हो । तीन दिनसम्म चलेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले असोज ३ गतेका लागि विरोधका कार्यक्रम गर्न नेताहरुलाई कार्यविभाजन समेत बाँडफाँड गरेको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश २ को पर्सा र बारामा पठाउने निर्णय गरेको छ भने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झालाई प्रदेश ५ को बाँके र बर्दिया तथा प्रदेश ७ का कैलाली र कञ्चनपुरमा पठाउने निर्णय गरेको छ ।

त्यस्तै अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्रराय यादवलाई प्रदेश ५ को नवलपरासी, रुपन्देही र कपिलवस्तु, अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी प्रदेश १ को झापा, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई प्रदेश १ को मोरंग र सुनसरीमा पठाउने निर्णय गरेको छ ।

प्रदेश २ मा हुने विरोध कार्यक्रमहरुमा प्रदेश २ का सरकारका मन्त्री एवम् राज्यमन्त्रीहरुलाई पनि खटाउने निर्णय गरेको छ । त्यसमा सप्तरीमा मन्त्री जितेन्द्र सोनल, सिरहामा मन्त्री रामनरेश राय, धनुषामा मन्त्री नवलकिशोर साह, महोत्तरीमा राज्यमन्त्री डिम्पल झा, सर्लाहीमा राज्यमन्त्री अभिराम शर्मा र रौतहटमा राज्यमन्त्री सुरेश मण्डललाई खटाउने निर्णय गरेको छ ।