चोरी आरोप अस्विकार गर्दा प्रहरीद्घारा जनकपुर अञ्चल अस्पतालका कर्मचारी कुटिए

SHARES
Share on FacebookShareTweet on TwitterTweet

विजय झा
आश्विन २० गत्ते,जनकपुरधाम ।

धनुषा प्रहरीले मोटर साइकल चोरी गरेको गलत आरोप स्विकार नगर्दा जनकपुर अञ्चल अस्पतालमा कार्यरत कर्मचारीलाई निर्घात कुटपिट गरेको छ ।

दुर्घटनामा परेको मोटर साइकल प्रहरीले व्यक्ति प्रयोगमा ल्याएको घटना लुकाउन अस्पतालका कर्मचारीलाई कुटपिट गरेको हो ।

लक्ष्मिनिया गाउपालिका–७ कुम्हरौडाका ज्ञानकुमार झालाई प्रहरीले कुटपिट गरी जवर्जस्ती मोटर साइकल चोरी गरेको स्वीकार्न लगाएको तथ्य सार्वजनिक भएको हो ।

दुर्घटनमा परेका घाइते उपचारकालागि काठमाडौ गएपछि प्रहरीले नियन्त्रणमा लिएको मोटर साइकल चोरेको आरोपमा अस्पतालका कर्मचारी झालाई शुक्रबार दिउसो प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको हो ।

साउन १५ गते को २२ प ५१०५ नम्बरको अपाचे मोटरसाइकल दुर्घटनामा कुम्हरौडाका शिव कुमार मिश्र र सोनि मिश्र घाइते भएका थिए ।

उनिहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारकालागि काठमाडौ रेफर गरिएको थियो ।

घाइतेलाई उपचारकालागि बाहिर पठाएका कारण दुर्घटनामा परेको मोटर साइकल र मोटर साइकलको कागजात प्रहरीले नियन्त्रणमा लिएका थिए ।

घाइते उपचार गराएर मोटर साइकल लिन बिहिबार प्रहरी कार्यालय पुगेपछि मोटर साइकल फेला परेको थिएन । प्रहरी कार्यालयबाट मोटर साइकल हराएको तथ्य सार्वजनिक भएको थियो ।

प्रहरी कार्यालयबाट मोटर साइकल चोरी भएको घटना लुकाउन अस्पतालका कर्मचारी ज्ञानेन्द्र झालाई प्रहरीले कुटपिट गरी जर्वजस्ती फासाउन खोजिएको पिडितले जनाएको छ ।

चोरीको आरोप स्वीकार नगर्दा झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा बुट, लाठि र मुक्काले निर्घात कुटपिट गरेको छ ।

प्रहरीको पिटाइले झाको घाटी र शरिर भरी गहिरो डाम परेको छ । प्रहरीको कुटपिटबाट घाइते भएका झाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहिले प्रहरीबाट भुल भएको स्विकारेका छन् ।

दुर्घटना पछि नियन्त्रणमा लिएको मोटर साइकल हराएको र शुक्रबार फेला परेको शाहीले बताए ।

हराएर फेला परेको मोटर साइकल विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।