जनकपुरधाम–पटना बस सेवा शुरु धार्मिक पर्यटकमा विशेष टेवा पुग्ने मुख्यमन्त्री राउतको विश्वास नेपाल मधेश समाचार

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम , भदौ ३१ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम –पटना नेपाल भारत मैत्री वस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताउनु भएको छ ।

नेपालको तर्फबाट स्वयम्भु मंजुश्री यातायात प्रालीले संचालन गर्न लागेको जनकपुर–पटना वस सेवालाई हरियो झण्डा देखाउदै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटकलाई ल्याउन ठूलो भूमिका खेल्ने बताउनु भएको हो । मुख्यमन्त्री राउतले बस सेवाले भारत विहारको राजधानी पटना र प्रदेश नं. २को राजधानी जनकपुरलाई जोडेको हुँदा दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्नु भयो ।

नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गर्नु हुँदै उहाँले बस संचालनमा देखिएको अप्ठयाराहरुलाई अन्त गर्न नेपाल तर्फका सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिनु भयो ।

जनकपुरधामको विकासको मुख्य आधार धार्मिक पर्यटन नै रहेकोले भारतको विभिन्न धार्मिक स्थलका साथै नेपालकै विभिन्न शहरहरुबाट समेत हवाई सेवा संचालनको लागि पहल भै रहेको उहाँको कथन थियो ।

उहाँले पोखरा बाट हवाई सेवा संचालनका लागि पहिलो चरणको कुराकानी भै रहेको उल्लेख गर्नु हुँदै लुम्बिनी लगायतको स्थानबाट समेत हवाई सेवा संचालनको पहल भै रहेको बताउनु भयो ।

नेपाल र भारतमा रहेका ९० प्रतिशत ओमकार परिवारका व्यक्तिहरुलाई जीवनमा एक पटक जनकपुर आउनै पर्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरेर योजना बनाउनु आवश्यक रहेको बताउनु भयो ।

स्वयम्भु मंजुश्री यातायात प्रालीका अध्यक्ष अनिल चालिसेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वन, पर्यटन , उद्योग तथा संस्कृति मन्त्री राम नरेश राय, राजपा संसदीयदलका सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दिनेश आमात्य सहितको उपस्थिति रहेको थियो ।