जनकपुर-जयनगर रेल संचालनको लागि कार्यविधि र कर्मचारी छनोट प्रक्रिया प्रारम्भ

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम, फागुन २५ गते । –
जनकपुर -जयनगर रेल्वे संचालन गर्न सरकारले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको छ । अगामी वैशाखदेखि पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेका लागि रेल विभागले प्रक्रियागत कामलाई पुर्णता दिँदै सञ्चालन विधि निर्माणको कार्य प्रारम्भ गरेको हो ।

त्यस्तै रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार सो रुटमा निर्माण हुने ७ वटा स्टेशनका लागी आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको र केही दिनमै उनीहरुको छनोट सकिने छ ।
महानिर्देशक मिश्रले सातै वटा स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको बताए । मुख्य स्टेशनमा भने केहि बढी कर्मचारी आवश्यक हुनाले सोही अनुसारको कार्यविधि निर्माणमा आफुहरु लागि परेको मिश्रको भनाइ छ ।
उनले कुर्था र खजुरा लगायतका केहि स्टेशनमा केही बढी कर्मचारी आवश्यक भएकाले आवश्यक अनुसार कर्मचारी परिचालन गर्ने बताए । जनकपुर जयनगर रेल सञ्चालनका लागि सरकारले भारतबाट दुई वाटा रेल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत मिश्रले बताए । सरकारले पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर रेल सेवा सञ्चालन गर्न लागेको हो ।