डोम समुदायबाट एमबीबीएस पढ्ने पहिलो युवा भए दिनेश

SHARES
Share on FacebookShareTweet on TwitterTweet

राजविराज, कार्तिक १८ गते ।

गरिबी, अशिक्षा एवम् जातिय विभेदको मार खेप्दैआएको डोम समुदायबाट देशमै पहिलो पटक सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ९ का एक युवा चिकित्सक पढ्ने अवसर पाएका छन् ।
रम्पुराको डोम बस्तीका १९ वर्षिय युवा दिनेश कुमार मरिकले सरकारी छात्रबृतीमा एम.बी.बी.एस. पढ्ने अवसर पाएका हुन् । डोम जातीबाट पहिलो पटक चिकित्सक पढ्ने अवसर पाएकोमा सिङ्गो डोम समुदायमा खुशीयाली छाएको छ । दलित अभियन्ता युक्ति मरिक र फुरकी देवी मरिकका काइँलो छोरा दिनेश गाउँ नजिकै पर्ने माध्यमिक विद्यालय खुदीबखारीबाट कक्षा १० उतीर्ण गरी राजविराज स्थित ह्याप्पील्याण्ड माध्यमिक विद्यालयबाट कक्षा १२ उतीर्ण गरेका थिए ।

समाजमा डोम जाती भएकै कारण जातीय छुवाछुतको चरम विभेद खेप्दैआएका कारण दिनेशले सानैदेखि पढेर ठूलो मान्छे बन्न सोच राखेका थिए । कक्षा १० उतीर्ण गरेपछि सदरमुकाम राजविराजमा घरबेटीले कुन जाती हो ? भनी सोध्दा मरिक भनेपछि कोठा खाली छैन भन्दै फर्काएको दुःखद क्षण स्मरण गर्दै दिनेशले भने ‘तीन–चार जना घरबेटीले डोम भएकै कारण कोठा भाडामा दिएन, त्यसपछि जात लुकाएर केही महिना बसेपछि जात थाहा पाएर कोठा खाली गरिदिनु आफैंलाई काम छ भन्दै निकालियो, पछिल्लो पटक राजविराजमै एक बाहुनको घरमा ‘मण्डल’ भन्दै डेरामा बस्दैआएको छु, छात्रबृति पाएकोले थाहा पाएपनि अब त आफै कोठा छोड्नै पर्छ ।’

छात्रबृति पढ्ने अवसर दिएर सरकारले आफुहरुलाई ठूलो गुण लगाएको तथा सफलताको श्रेय बा–आमाको आशिर्वाद र आफुले गरेको मेहनत नै भएको उनले बताए । ‘सानो छँदा दिनेशले बुवालाई भन्ने गर्थें, कि त रिन्च कि त सिरिन्ज समाउँछु’ दिनेशले भने ‘रिन्चको अर्थ इन्जिनियरिङ्ग तथा सिरिन्जको प्रतिक मेडिकल पढ्ने ईच्छा थियो तर त्यो त सपना जस्तै लाग्थ्यो ।’
समाजमा डोम जातीलाई अझै पनि विभेद गर्ने गरेको तथा छुवाछुत समेत मान्ने गरेको कुराले आफुलाई सधैं पिरोल्ने गरेको उनले बताए । जस्तोसुकै संघर्ष गरेर पनि समाजमा डाक्टर बनेर देखाउने संकल्प रहेको बताउँदै दिनेशले भने ‘ म डोमको छोरा डाक्टर बनेर आएपछि आफुलाई ठूला जात भनाउनेहरु विरामी पर्दा जाँच गर्ने क्रममा जिउमा छोइन्छ नै, त्यतिबेला त जिउमा गङ्गाजल त छर्किदैन नि, डाक्टर कुन जातको हो भनेर सोधिदैन नि ।’ डोम समुदायले आफ्ना छोराछोरीलाई शिक्षामा जोड दिनुपर्ने तथा सरकारले समेत विशेष संरक्षण दिनुपर्ने उनको भनाइ छ ।

त्यसो त दिनेशका बुवा युक्तिले पनि कम संघर्ष गरेको होइन, उनी अहिले पनि एल.एल.बी.मा अध्ययनरत छन् । छोराले एम.बी एस. पढ्ने अवसर पाएकोमा आफु अत्यन्तै खुशी भएको बताउँदै उनले भने ‘छोराले छात्रबृती पाउँदा सिङ्गो समुदाय नै खुशी छन् तर अहिले चुनौतीहरु पनि धैरै छन् ।’
डोम उत्थान समाजका केन्द्रिय अध्यक्ष समेत रहेका युक्तिका अनुसार सप्तरी सहित देशैभरिमा कुल १३ हजार ८ सय ३२ जन संख्या रहेको छ भने सप्तरी जिल्लामा मात्रै करिब तीन हजार डोम जातीको बसोवास रहेको छ ।
शैक्षिक तथा आर्थिक दृष्टिकोणले निक्कै पछाडि रहेको डोम जातीबाट देशभरिमै कक्षा १० उतीर्ण संख्या १७, प्रविणता प्रमाणपत्र तह १० जना र स्नातक तहको शिक्षा उतीर्र्ण गरेका तीन जना मात्र रहेको उनले जानकारी दिए । प्रायः ऐलानी जग्गामा बसोवास गर्दै आएका डोम समुदाय सुँगुरपालन तथा बाँसका ढकिया, कुनियाँ, छिट्टी, चँगेरा, दौरा इत्यादी बनाएर गाउँगाउँ पुगी बिक्री गरेर जिविकोपार्जन गर्दैआएका छन् । बालविवाह र अत्यधिक रक्सी सेवनका कारण मृत्युदर समेत अन्य जातीको भन्दा अत्यधिक रहेको छ ।