दर खाएर बिरामी परेकाहरुको कारण अझै पत्ता लागेन

SHARES
Share on FacebookShareTweet on TwitterTweet

प्रदेश नं ३ का सांसद गोमा भूर्तेल दुई दिन देखि बनेपास्थित शिर मेमोरियल अस्पतालको श्ययामा उपचार गराइरहनु भएको छ ।

गत शुक्रबार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरिएको तीज विशेष दर खाने क्रममा प्रमुख अतिथि भएर पुग्नु भएका उहाँ कार्यक्रमबाट फर्केपछि भोलिपल्ट शनिबार देखि उपचार गराइरहनु भएको हो । “टाउको, पेट दुख्ने, पखाला लाग्ने, बान्ता गर्ने र ज्वरो आउने समस्या यथावत नै रहेको छ”, उहाँले भन्नुभयो ।

सो कार्यक्रममा भेला भएर दर खाएका सबैजसो गाउँले बिरामी परेर उपचार गराइरहेका छन् । उपचारमा संलग्न शिर मेमोरियल अस्पतालका चिकित्सक अरुण गुप्ताले बिरामीमा केही सुधारको अवस्था भएमा आज घर पठाउन सकिने बताउनुभयो ।

भोज खाने मध्ये बिरामी भएर उपचार गर्नेको सङ्ख्या ५३६ जना पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा नै भर्ना भएर उपचार भइरहेको बिरामीको सङ्ख्या १५४ जना रहेको र बाँकी उपचार पश्चात घर फर्किसकेका छन् । ६ जनाको अझै सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

घटना भए लगत्तै शनिबार नै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका चिकित्सक समीर अधिकारीको नेतृत्वमा गएको टोलीले बिरामीले खाएको खाना तथा प्रयोग गरिएको कुवा र इनारको पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाएको छ । त्यसको प्रतिवेदन आउन दुई दिन लाग्ने भएकाले त्यसपछि बिरामीको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

Post Views: 14