नयाँदिल्लीमा प्रचण्ड–मोदीबीच के–के कुराकानी भयो ?

SHARES
Share on FacebookShareTweet on TwitterTweet

नयाँ दिल्ली, २३ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज दिउँसो भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल केन्द्रित रह्यो ।

नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने बिषयमा र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा पनि चर्चा भएको थियो ।

दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो । यसका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर आउनुभएको बेलामा केही सहमतिहरु खास गरी कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि ठोसरुपमा कुराकानीहरु भए । दुबै नेताहरुबीच झण्डै एक घण्टा भएको छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

समग्रमा दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्पको साथ छलफल टुंगिएको थियो ।