पटना–जनकपुरधाम बस सेवा सञ्चालन !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

जनकपुरधाम । भारत बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मंगलवार झण्डा देखाएर भारत–नेपाल बस सेवाको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री सचिवालय नजिकैको ‘संवाद’ अगाडीबाट मुख्यमन्त्री नितिश कुमार र बिहार सरकारको परिवहन मन्त्री सन्तोष कुमार निरालाले हरियो झण्डा देखाएर बस सेवाको शुभारम्भ गरे । मुख्यमन्त्री कुमारले बसको गहन रुपमा निरीक्षण गरेपछि हरियो झण्डा देखाएका थिए ।

अत्याधुनिक सुविधा सम्पन्न बस सेवाबाट नेपाल र भारतका बासिन्दाहरु लाभान्वित हुने छन् ।मुख्यमन्त्रीले शुभारम्भ गरेको एउटा बस जनकपुरधाम र अर्को बस काठमाण्डु जाने छन् ।बोधगया–पटना काठमाण्डु र पटना –जनकपुरधामका लागि एकै साथ बस प्रस्थान गरेपनि राती करिब १० बजे बस जनकपुरधाम आउने बताईएको छ ।दुवै बसका यात्रुहरुलाई मुजफफ्रपुरमा बिहार रोड,ट्रान्सपोर्ट परिवहनका रिजनल मैनेजर एसएन झाको अग्रसरतामा भव्य स्वागत गरियो ।

भारतीय समय अनुसार मध्यान्ह साढे १२ बजे छुटेको बसका यात्रुहरुलाई मुजफफ्रपुरमा स्वागत गरिएपछि बसहरु गन्तव्य तर्फ प्रस्थान गरेको मिडिया फर बोर्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारीले जनाए ।

बसमा टिकटका लागि मतदाता परिचय पत्र, ड्राईभिंग लाईसेन्स अथवा पासपोर्ट र नेपालीको हकमा नागरिकता अनिवार्य गरिएको छ ।

‘बसमा यात्रुको समानहरुलाई विमान जस्तै ट्याग लगाइन्छ’ मैनेजर एनएन झाले भने, ट्यागमा यात्रुको नाम र मोबाईल नम्बर उल्लेख गरिएको हुनेछ ।’अवैध कुनै समान फेला परे सम्बन्धित यात्रु कार्वाहीमा पर्ने र बस आफ्नो गन्तव्य तर्फ जाने उनले बताए ।

झाका अनुसार पटना–जनकपुरधाम बसको भाडा भारतीय रुपैया २ सय ७५(नेपाली ४४०) र बोधगया –काठमाण्डु भारतीय रुपैया १२५०(नेपाली २०००) निर्धारण गरिएकोछ ।पटनाबाट काठमाण्डुको भाडा भारतीय रुपैया १०५०(नेपाली १६८०) निर्धारण गरिएको छ ।

पटनाबाट छुटेको बस मुजफ्फर र सीतामढीमा रोकिने छ ।त्यसपछि भिठ्ठामोड बोर्डर पार गरेपछि सोझै जनकपुरधाम जानेछ । जनकपुरधामबाट छुट्ने बस सीतामढी सरकारी बस स्टेण्डमा रोकिनेछ । काठमाडौंबाट छुट्ने बस बीरगंज, रक्सौल, मोतिहारी, मुजफ्फरपुर हुँदै पटना पुग्ने छ ।

बोधगया–काठमाण्डु बससेवामा १८ तारेख अर्थात असोज २ गते सम्म टिकट बुक गर्ने यात्रुहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

जनकपुरधामबाट भदौ ३१ गते मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बस सेवाको शुभारम्भ गर्ने छन् । जनकपुरबाट सुरु हुने बस सेवाका लागि भारतीय पथ परिवहनका अधिकारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहने छ ।

जनकपुरबाट बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे बस छुट्ने बताइएको छ । बोधगायाबाट काठमाडुको लागि बिहान १० बजे र काठमाण्डुबाट बेलुका ८ बजे बोधगयाको लागि बस छुट्ने बताइएको छ ।

बिहार राज्य पथ परिवहनको र नेपालबाट श्वम्भु मञ्जुश्री यातायात प्रा.लि.ले बस सेवा सञ्चालन गर्ने जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले बताए ।