प्रहरी हिरासतमा मृत्यु भएका यादवको शव परिवारले अहिलेसम्म पनि पाएन

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं, १९ भाद्र । प्रहरी हिरासतमा रहेका बेला बिरामी भई उपचारको क्रममा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव उनका परिवारजनले अहिलेसम्म पनि पाएका छैनन् ।

हालसम्म पनि मृतकको शव परिक्षण नगरिएकोले शवको सदगत हुन सकेको छैन । जसले गर्दा मृत्युपछि धार्मिक परम्पराअनुसार दाह संस्कार गर्न पाउनु पर्ने अधिकारको उल्लंघन भएको तराई मानव अधिकार रक्षक सञ्जालले जनाएको छ ।

मिति २०७५ भाद्र ७ गते वर्दियामा संघीय समाजवादी फोरम नेपालद्धारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उपस्थित उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केहि प्रश्न गर्न सक्ने वा कालो झण्डा देखाउन सक्ने शंकामा प्रकाउ गरिएको राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको घटनाको छानविन गरी दोषीलाई कारवाही गरी पाँउ भनि पिडित परिवारले जाहेरी दर्ता गर्न जाँदा जाहेरी दर्ता नगरेको गुनासो छ ।

लाश हेर्न नपाएर मृतकका आमा, बाबु, श्रीमति, निजका कलिला बालबालिकाहरु रुँदारुँदै बेहोश हुने गरेको, खाना समेत नखाएकोले उनीहरु बारम्वार अचेत हुने गरेको अवस्था छ ।

थर्ड एलायन्सले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘मान्छेको मृत्यु भई सकेपछि उसको धार्मिक परम्परा अनुसार लासको सदगत गर्न पाउनु पर्ने नैसर्गिक तथा कानुनी अधिकार हो । प्रहरी हिरासतमा राखिएका कुनैपनि व्यक्तिको स्वास्थ्य उपचार लगायत निजको सवै सुरक्षाको जिम्मेवारी सम्बन्धित प्रहरी कार्यालयको हुने भएकोले समयमा उपचार नपाएर हिरासतमा मान्छेको मृत्यु हुनु गम्भिर विषयवस्तु हो । यस्तो प्रकृतिको घटनामा राज्य अफ्नो दायित्ववाट कदापि बिमुख हुन पाउँदैन ।’ उल्लेख छ ।

उक्त घटनालाई निष्पक्ष छानविन गर्नका लागि जाहेरी दर्खास्त दर्ता गरी मृतकको शव परीक्षण गराई लाश सदगत पुर्जी दिई दाहसंस्कार गर्ने वातावरण बनाइदिनका लागि थर्ड एलायन्सले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । साथै घटनाको अनुसन्धान तथा छानविन गरी दोषीलाई कानुन बमोजिमको कारवाहीको माग गरिएको छ ।