बादललाई आउट गर्दै वामदेवलाई बनाउने भयो गृहमन्त्री !

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने तयारी गरेको खबर सुन्दा अचम्म लाग्न सक्छ । तर, ओलीकै एकजना विश्वस्त पात्रका अनुसार यो समाचार सुन्दा अचम्म मान्नुपर्ने कुनै कारण छैन, किनकी बादललाई हटाउन ओली तयार भइसकेका छन् ।

सहायक कारण अरु जे पनि हुन सक्छ, तर मुख्य कारण चाहिँ नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई व्यवस्थापन गर्नु हो । वामदेवलाई व्यवस्थापन गर्नकै लागि सँस्कृति पर्यटन तथा नागरिक उडउड्ययन राज्यमन्त्री धनबहादुर बुढालाई डोल्पाको एकमात्र निर्वाचन क्षेत्रबाट राजीनामा गराउँदैछन्, र गौतमलाई त्यहाँबाट जिताएर प्रतिनिधिसभा सदस्यको रुपमा ल्याउँदैछन् ।

राज्यमन्त्री बुढाको क्षेत्रबाट निर्वाचित भएपछि गौतमलाई गृहमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओलीका ती विश्वासिला पात्र भन्छन्, ‘डोल्पाबाट जितेपछि वामदेवजीलाई गृहमन्त्री बनाउने तयारी छ, सायद अब बादलजी गृहबाट हट्नुहुन्छ ।’

बादललाई हटाएर वामदेवलाई गृहमन्त्री बनाउने विषयमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि कुराकानी भएको जनाएको छ ।

प्रचण्डले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर, गौतमलाई डोल्पाबाट चुनाव लडाउने विषयमा भने दुवै अध्यक्ष सहमत छन् ।