बौद्धको तिमाल जात्रालाई राष्ट्रिय पर्व बनाउन माग

SHARES
Share on FacebookShareTweet on TwitterTweet

काठमाडौँ, ७ माघ । चैत शुक्ल पूर्णिमाका दिनमा बौद्धमा मनाइने तिमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धवासीले माग गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले बौद्धमा आयोजना गरेको तिमाल जात्रासम्बन्धी छलफल कार्यक्रममा स्थानीयवासीले यस्तो माग गरेका हुन् ।

“माघ १ गते तारेभीरमा महोत्सव, फागुन ७ गते कागेश्वरीमा महोत्सव र वैशाख १ गते मणिचुडमा मेलाको आयोजना गरी यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै आएका छौँ, यसलाई अझ विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको हो”–उनले भने ।

छलफलमा काठमाडौँ महानगरपालिका–६ का पूर्व वडा अध्यक्ष नेपालजीत लामाले बौद्ध स्तुपलाई गोकर्णस्थित राष्ट्रिय सहिद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, कागेश्वरी र मणिचुडलगायत स्थानसँग जोडेर प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गराउन सरकारीस्तरबाट विशेष कार्यक्रम ल्याउन पहल गर्न सांसद फुयाँलसँग माग गरेका थिए ।

चैतमा उपत्यका वरपरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवालगायतका जिल्लाका तामाङ समुदायका मानिसले दिवङ्गत पितृको स्मृतिमा रातभर बत्ती बाली मुक्तिको कामना गर्नेगर्छन् ।

भोलिपल्ट बालाजु बाइस धारामा स्नान गरी नागार्जुनको जामाचोमा बत्ती बाल्ने र त्यसको भोलिपल्ट स्वयम्भूमा बत्ती बालेपछि यो जात्रा समाप्त हुन्छ ।

यो परम्परा प्राचीन तिमालका राजाले चलाएको सम्झनामा यसलाई तिमाल जात्रा भनिन्छ । जात्रामा तिमालका स्थानीयवासीको विशेष उपस्थिति हुन्छ ।