मिर्चैया : पोखरीमा विष हालिदिँदा १० लाखबढीको माछा मरे 

SHARES
Share on FacebookShareTweet on TwitterTweet

सिरहा, ४ फागुन । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरीस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब १० लाख मूल्य बराबरको माछा मरेको छ । मल्हनियाँ खोरीस्थित चौध कठ्ठा क्षेत्रफलमा रहेको निमावि पोखरीमा गएराति करिब १२ बजेको समयमा अज्ञात समूहले विष राखिदिएपछि विभिन्न ७ प्रजातिका तयारी अवस्थामा रहेका माछा मरेपछि ठूलो क्षत्ति पुगेको हो ।

मिर्चैया १ का माछा व्यवसायी शिव नारायण श्रेष्ठले पोखरी ठेक्का लिएर सञ्चालन गरेको माछा पालनमा राखिएको रौ, कोमन, नैनी, सिल्वर, विगट, ग्राँस र पोठिलगायतका प्रजातिको माछा मरेको मिर्चैया नगरपालिका वडा नं. २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरले जानकारी दिए । 

डाहा वा व्यक्तिगत रिसइवीका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने अशंका छ । मिर्चैया नगरपालिकाको मातहतमा रहेको उक्त पोखरी व्यवसायी श्रेष्ठले तीन वर्षको ठेक्का लिएर माछा पालन सञ्चालन गरेका थिए । माछा पालन सञ्चालन गरिएको एकवर्ष नबित्दै यस्तो घटना भएको हो । 
स्वदेशमै कर्म र मेहनत गर्न चाहनेलाई मनोवल गिराउन खोज्ने उपर अनुसन्धान गरी कडा कारवाही गर्न वडाध्यक्ष कापरले माग गरेको छ ।

घटना भएको जानकारी पाएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले अपराधि पत्ता लगाई दोषलाई नछाडिने बताए । यस घटना उपर प्रहरीको अनुसन्धान जारी छ ।