यो कथा तीजको अघिल्लो दिन पढ्नुभएन भने जिवनभर पछुतो हुनेछ ।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

“लौ त म अब जान्छु है । खाना समयमा खानू नि । बाहिरको नखानू, ग्यास्टिक बढला । बिहान खाली पेट पानी खान नबिर्सनू । घर सफा राख्नु है, नराम्रा सपना आउँछन् ।” गौरीले मलिन अनुहार बनाएर शिवलाई भनिन् । तीजको दर खाने (एकभक्ते ) भन्दा अघिलो सांझ माईत जाने बेला पनि गौरीको मनमा उत्साह थिएन ।
“कि म नजाऊँ ?” उनले भनिन्।

“होईन होइन, जाऊ । सबै दिदीबहिनी हिजै आईसकेका छन् । तिमी मात्र नजाँदा नरमाईलो होला । बरु छिटो गर । अचेल बसमा निकै भिड हुन्छ ।” उसले भन्यो ।
शिव हतार हतार एउटा ठूलो ब्याग समाएर गेट बाहिर आयो । गौरी सानो ब्याग समाएर बाहिर निस्किईन अनि ढोका लाउन थालिन् । केही सम्झेर फेरि ढोका खोलीन् अनि भित्र पसिन् ।
“छिटो गर न, गौरी ।” बाहिरबाट शिव करायो ।

गौरीले कोठाको पंखा बन्द गरिन् । भान्सामा गएर सिलीण्डरको रेगुलेटर अफ गरिन् । दुधको ताप्के प्लेटले छोपिन् । बाहिर आएर ढोकामा ताल्चा लाईन र गेट बाहिर आईन् ।
“कति ढिलो गरेको हो के ?” बाईक स्टार्ट गर्दै शिवले भन्यो ।
“लोग्ने मान्छे फुत्त घर बाहिर निस्केको जस्तो हो र आईमाईलाई ? अझै के बिर्सें के बिर्सें लागीरहेको छ ।” टक्क अडिएर सम्झने कोशिश गर्दै गौरीले भनिन् ।
“ह्या छिटो बस न ।” शिवले बाइकको एक्सेलेरेटर बढाउँदै भन्यो ।
“हत्तेरीका फिल्टरमा पानी राखीदिन्छु भनेको त बिर्सेछु ।” झट्ट सम्झिंदै गौरीले भनिन् । ”
“त्यत्ती जाबो कुरा ? मै गर्छु नि । छिटो बस न गौरी !” उसले भन्यो ।

“कति हतार हो हजुरलाई ? जाने त म पो हो नि । हजुरले ख्याल गर्ने भए त मलाई के को सुर्ता लिनु पर्थ्यो र ? पानी धेरै खानू है । अनि साँझ मैरी र पुजा कोठामा नबिर्सेर सन्ध्या बत्ती बाल्नू है । खानेपानीको धारा खुला नछोड्नू नि । फोन साइलेन्टमा नराख्नू । राती गेट, ढोका लगाउनू है । पर्वको बेला चोरी हुने डर हुन्छ ।” बाईकमा बसेर मुलसडक पुग्ने बेला सम्म गौरीले शिवलाई धेरै कुरा भन्दै थिईन । उसले चुपचाप सुनीरहेको थियो ।
बस कुर्ने वेला शिवले गौरीलाई भन्यो, “साडी ल्याईदिन्छु भन्दा `भो पर्दैन´ भन्यौ । सबैले नयाँ लाउँदा तिमीले पोहरकै बेर्नु पर्ने । के भन्लान मलाई तिम्रा दिदीबहिनी, माईतीले ?”

ह्या के भन्ने हो र ? नचिनेको जस्तो । सबै ज्वाइँ भन्दा हजुरलाई प्यारो गर्नुहुन्छ । भाइ बहिनीले पनि हुरुक्कै माया गर्छन । एकदिनलाई नयाँ साडी किन किन्नु पर्‍यो ? पैसा भए त स्कुलको फिस तिरे भैहाल्यो । भएको पैसा सक्नैपर्ने हजुरको पुरानै बानी है ?”

एकछिनको मौनता । खोइ किन किन शिवलाई यसपालीको तिज अलिक ढिलो गरि आए झै लागेको थियो । “तिज कति गते ? तिमी माईत कहिले जाने ? पञ्चमीको भोलिपल्ट त आउने होला नि ?” धेरै पटक उसले गौरीलाई सोधेको थियो ।
अलिक पर बाटोमा गौरी जाने बस आईरहेको देखिन्छ ।
“बूढो”

“हुम ?”
“सुन्नु न”
“भन न, सुनेकै त छु ”
“तिजको दिन घुम्दै आउनू है, प्लिज । पक्का है । पोहर परार झैं नगर्नु नि । नआउने भए त म जान्न ” गौरीले बिस्तारै भनिन ।
“हत्तेरी ! तिमी पनि । ओके बाबा आउँला । भयो त । जाऊ अब । बस आयो ।” उसले भन्यो । “पक्का आउनू नि” भन्दै गौरी बसमा चढिन् ।

माइतीमा पुगेपछी पटक पटक गौरीले फोन गरीरहन्छिन् र सोधिरहन्छिन। “कता बूढो ? आउनु भो घर ? सन्ध्या बत्ती… ? दूध तताएर सबै खानु है । फलफुल खानू है डाइनिङ टेबलमा छन । धेरै मोबाइल नहेर्नू है । खानुभो ? बिचरा के गर्नु एक्लै हुनु भो । गेटमा ताला लाउनू है ढोका बत्ती बन्द गर्न नबिर्सनु नि” आदि आदि । सबै नाचगानमा व्यस्त भएपनी गौरीलाई घर र शिवको मायाले भुटिरहन्छ । दिदीबहिनीले अचाक्ली गरेको देखी कहिले जिस्क्याउने, कहिले गाली गर्ने गर्छन ।

तीजको दिन बिहानैदेखि पानीको थोपा मुखमा नपारी व्रत बस्छिन् गौरी । शिवलाई पटक पटक फोन गर्छिन, भुटभुटीईरहनशिवलाई । कपडा लगाई श्रृङ्गार गरेर गरगहना लगाएपछि फोन गरेर शिवलाई यसो घुम्दै आउनु है आज भनी बोलाउँछिन तर शिवले आफुलाई जाँगर नलागेको कुरा गर्छ । दिउसैदेखि साँझलाई शिवजीको पूजा गर्न सरसामान जुटाउनमा गौरी व्यस्त रहन्छिन । यसपाली पूरा विधीपूर्वक व्रत बसि पूजा गर्ने बिचार छ उनको ।

शिवपुजनको बेला गौरीको मुहारमा निकै चमक आएको छ । आज शिव आउने छ र गोडाको जल खानु छ, आशिर्वाद लिनु छ । हाँसो ठट्टा रमाईलो साथ शिवको बाटो हेर्दै गौरीले शुद्ध चित्तले पूजा गर्छिन् । झिसमिसेतिर अब त शिवको मोटरसाइकल आइपुग्छ भनी कलशमा जल लिएर बसेकी गौरीको मोबाइलमा उनकी सबैभन्दा बिश्वाशिली साथी गोमाको फोन आउँछ । हर्षले फोन उठाएकी गौरिको अनुहार अचानक मलिन हुन्छ । अनुहारको कान्ती हराउँछ । ” तीन दिन भैसक्यो अझै थाहा छैन ? त्यस्ता सौता हाल्ने असत्तिको लागि के व्रत लिन्छौ, गौरी ? अब त अन्धवुश्वास छाडीदेऊ ” भन्दै गोमाले फोन राखेपछि गौरीको हातबाट कलश खस्छ । थचक्क भुईंमा बसेर सुइया… सुस्केरा हाली बर्बरी आँसु झार्दै गौरी वरिपरीका दिदीबैनीको अनुहार एकोहोरो हेरिरहन्छिन ।