वडा अध्यक्षले नक्कली राजश्व बील काटेर पैसा उठाएको आरोप

SHARES
Share on FacebookShareTweet on TwitterTweet

मधेश खबर, सिरहा !

नगरपालिकाका एक वडा अध्यक्षले नक्कली राजश्व विल काटेर रकम उठाएको आरोप लागेको छ ।

सिरहा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिदेव यादवले सिफारिसमा सेवाग्राहीलाई नक्कली रसिद दिएको स्थानीयले आरोप लगाएको हो ।

घरबाटो प्रमाणितको लागि दिएको सिफारिसमा रकम लिएर नक्कली राजश्व बील दिएको सिरहा नगरपालिका ९ ठेंगहीका रामदयाल यादव (जोधनी) ले बताएका छन् ।

असार ३ गते चन्देश्वर महरा, बुधन चमार, असार ६ मा रामप्रसाद साह र असार १३ मा रामकुमार गोइत यादवले घरबाटो सिफारिसको लागि वडा कार्यालयमा निवेदन दिएका थिए । घरबाटोका सिफारिस दिएका वडा अध्यक्ष हरिदेव यादवले सवैसँग ३÷३ सय रुपैयाँको दरले नक्कली रसिद काटेर दिएको हो ।

यता सिरहा नगरपालिका राजश्व फाँटले पनि उक्त विलहरु राजश्व शाखाबाट जारी नभएको जनाएको छ । राजश्व शाखा प्रमुख मनोज यादवले जारी गरिएको बील यस फाँटबाट वडा कार्यालयलाई वितरण नगरिएको प्रष्टाएका छन् ।

नक्कली विलमा राजश्व उठाएको वारेमा वडा अध्यक्ष हरिदेव यादवले विपक्षीले बदनाम गर्न आरोप लगाएको बताएका छन् । आफूले कुनै नक्कली विल जारी नगरेको र आफ्नो छाप पनि ३-४ महिनादेखि हराएको वडा अध्यक्ष यादवले बताए ।