सरकारले खाडीमा घरेलु कामदार पठाउन रोके पनि भारत हुँदै अवैध बाटो जाने नेपाली महिलाको कमी छैन तर यसरी जानेहरू तस्करको जालोमा परेर त्यहाँका बजारमा बस्तुभाउ जसरी बेचिन्छन् ।

SHARES
Share on FacebookShareTweet on TwitterTweet

सरकारले खाडीमा घरेलु कामदार पठाउन रोके पनि भारत हुँदै अवैध बाटो जाने नेपाली महिलाको कमी छैन तर यसरी जानेहरू तस्करको जालोमा परेर त्यहाँका बजारमा बस्तुभाउ जसरी बेचिन्छन् । यूएई पुगेका महिला त्यहाँबाट इराक र सिरियासम्म पनि घरेलु कामदारका रूपमा बेचिएका हुन्छन् । मालिकले भनेअनुसार तलब नदिने र घर पनि फर्कन नमिलेपछि उनीहरू भागेर दूतावासको शरणमा पुग्छन् ।

अजमानको लिवारास्थित शेख अब्दुुलाहविन हमाद सडकको १५ र १९ नम्बरको बीचमा एउटा बजार छ । यसलाई नेपाली कामदारहरू ‘नेपाली युवती किन्न पाइने स्थल’का रूपमा चिन्छन् । अरबीहरूचाहिँ खद्मा (घरेलु कामदार) पाइने ठाउँका रूपमा बुझ्छन् । यहाँ साँझ बढी चहलपहल हुन्छ । महँगामहँगा गाडी लिएर हाउसमेड ‘किन्न’ आउनेको ताँती नै लाग्छ ।

स्ट्रिट नम्बर १५ र १९ नम्बरमा म्यानपावर कार्यालय छन् । यी कार्यालय घरेलु कामदार आपूर्ति गर्ने पसलका रूपमा चिनिन्छन् । यस क्षेत्रमा सयभन्दा बढी म्यानपावर छन् । भदौ ११ गते साँझ ७ बजे त्यहाँ पुग्दा हरेक पसलमा घरेलु कामदारका रूपमा ल्याइएका नेपालीसहित विभिन्न देशका महिला भरिभराउ थिए । सबैभन्दा बढी अल मुटामैज, मनरा, अल वादी, अल मायस्, क्युतुवा, अल दारमा देखिन्थे । कार्यालयमा नअटेर बाहिरसमेत राखिएको थियो । केहीले बुर्का लगाएका थिए त कोही कुर्तासुरुवाल र टिसर्ट पाइन्टमा देखिन्थे ।
म्यानपावरको कार्यालयभित्र देशैपिच्छेका टेबल छन् । श्रीलंका, भारत, फिलिपिन्स, नेपाल, इथोपियाबाट घरेलु कामदार ल्याउने एजेन्टका आआफ्नै टेबल । म्यानपावर कम्पनी स्थानीय नागरिकका नाममा छ । अरबीहरू जुन देशको कामदार मन पर्छ, त्यही टेबलमा गएर डिल गरिरहेका थिए । एजेन्टसँग कुरा मिले उनीहरू सम्बन्धित महिलाको अन्तर्वार्ता लिन्छन् अनि पैसा तिरेर आफूसँगै लिएर जान्छन् ।

Yamaha

यूएईको अजमानस्थित म्यानपावरमा घरेलु कामदारहरू। तस्बिर : होम

अजमान ट्रान्जिट
अजमान संयुक्त अरब इमिरेट्स (यूएई) भित्रको एउटा राज्य हो । यहाँका धेरैजसो नियमकानुन आफ्नै छन् । दुबई, सारजहाँ, आबुधावी, अलएन राज्य मात्र होइन, ओमनदेखि समेत मानिसहरू घरेलु कामदार किन्न अजमान आउँछन् ।

यी म्यानपावरसम्म कसरी नेपाली महिला पुग्छन् त ? तीन महिनादेखि आबुधावीस्थित नेपाली दूतावासको सेल्टरमा बसिरहेकी झुमा परियार अजमानकै अल मायस् म्यानपावरबाट बेचिएकी थिइन् । नेपाली दलालले उनलाई दिल्ली हुँदै अजमान पुर्‍याएका थिए । ‘दिल्लीसम्म नेपाली एजेन्टले पुर्‍याएको हो । मेरो पैसा लागेन । दिल्लीको चिडियाखानापछाडिको एउटा घरमा दुई हप्तासम्म राख्यो । त्यहाँ २० जना नेपाली दिदीबहिनी थिए । दिल्लीको म्यानपावरको अजमानको म्यानपावरसँग सम्पर्क हँुदोरहेछ । उनीहरूले मेरो राहदानी र फोटो पठाएपछि म्यानपावरको स्पोन्सरमा भिसा निकाले,’ परियारले भनिन्, ‘भिसा निस्केपछि हामी सात जना मायस म्यानपावरमा गयौं । त्यहाँबाट अरबीले नै किनेर आफ्नो घर लग्यो ।’
उनलाई सारजहामा बस्ने इमाराती (स्थानीय नागरिक) ले ९ हजार दिराम (करिब २ लाख ७० हजार रुपैयाँ) मा म्यानपावरलाई बुझाएर लगेको थियो । ‘६ महिनासम्म मैले काम गर्न सके अरबीले तिरेको पैसा पच्दोरहेछ,’ उनले भनिन् । त्यो घरमा १३ जनाको परिवार थियो । तलब ९ सय दिराम तोकिएको थियो । दैनिक १८ घण्टा काम गर्नुपथ्र्यो । ‘मलाई टिक्नै गाह्रो भयो । म्यानपावरलाई अर्को घरमा पठाइदिन अनुरोध गरेँ । इमारातीलाई पैसा फिर्ता दिनुपर्छ भनेर आउनै दिएनन् । त्यसैले भागेर दूतावास आएँ,’ उनले भनिन्, ‘मेरो राहदानी इमारातीसँगै छ ।’