साईकल चढेर अयोध्याको यात्रामा निस्किए रंजित

SHARES
Share on FacebookShareTweet on TwitterTweet

महोत्तरी, कार्तिक २ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेका जनकपुर–अयोध्या बससेवा अझैपनि सञ्चालनमा आउन सकेको छैन् । २८ बैशाखमा जनकपुर भ्रमणको बेला मोदी र ओलीले जनकपुर र अयोध्याबीच धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको भन्दै दुबै स्थानको धार्मिक पर्यटन प्रवद्र्धनकालागि संयुक्त रुपमा उक्त बससेवाको उदघाटन गरेका थिए ।
तर, उदघाटन भएकै दिन केही व्यक्तिहरुलाई लिएर अयोध्या पुगेको बस दोस्रो पटक पुग्न सकेको छैन् । बस अझैसम्म चल्न नसकेपछि बस सञ्चालन गर्न सन्देश दिन जनकपुरका एक युवक साइकल चढेर अयोध्यातर्फ प्रस्थान गरेका छन् ।

जनकपुर उपमहानगरपालिका वडा नं. ४ का रन्जित कुमार साहले दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउन अयोध्यातर्फ साईकल यात्रामा निस्केका हुन् । साईकल यात्री साहलाई शुक्रवार राजपा संयोजक महन्थ ठाकुर, प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तथा अन्य विभिन्न विशिष्ट व्यक्तिहरु तथा शसस्त्र प्रहरी तथा शसस्त्र प्रहरी राजश्व गुल्मले समेत विदाई गरेका छन ।

नेपाल कटेर भारत पुग्दा भारतीय एसएसवीले भिठामोडमा समेत उनको स्वागत गरे ।
अहिले पनि भग्वान राम जस्तै आमाबुवालाई सेवा गर्ने सन्तान होस आफ्नो चाहना रहेको साइकल यात्री साहको भनाइ छ । उनले युपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर जनकपुर अयोध्या बस सेवा तत्काल सुचारु गर्न आग्रह गर्ने बताए ।

उनी यसअघि साइकल चढेरै जनकपुरदेखि हलेसी, मुक्तिनाथ र काठमाडौँको यात्रा समेत गरिसकेका छन । उनको यो चौथो साईकल यात्रा हो । शुक्रवार यात्रामा निस्केका साह रामायण सर्किट हुदै आगामी चार दिनमा अयोध्या पुग्ने बताए ।

को हुन साईकल यात्री साह ?

कक्षा ७ सम्म मात्र अध्ययन गरेका साहको जनकपुरस्थित बस विसौनीमा सानो पान पसल छ । उनी परिवारको एकमात्र कमाउने व्यक्ति हँुदापनि धार्मिक विकट यात्राहरु गर्न रुची राख्छन् । उनी यात्रामा सबैको सहयोग पाइरहेका छन् । उनी आफ्नो अयोध्याको यात्राले दुई देशको सम्बन्ध अझै घनिष्ट र प्रगाढ बन्नेतर्फ आशावादी छन् ।