‘हात्तीका बाटामा बस्ती बस्दा मान्छे र हात्ती बीच द्वन्द्व:

SHARES
Share on FacebookShareTweet on TwitterTweet

मान्छे–हात्ती द्वन्द्व: हात्तीमार्गमै बस्ती बसेपछि समस्या
३५ वर्षअघिसम्म हात्तीले खासै क्षति गर्दैनथ्यो । आफ्नै बाटो आउँथ्यो, जान्थ्यो । बस्ती बढ्दै गएपछि हात्ती हिँड्ने बाटामा मान्छे बस्न थाले । तिनले हात्तीलाई बिच्क्याउन थाले, द्वन्द्व बढ्दै गयो ।
भाद्र ३०, २०७५

काँकडभिट्टा — झापामा मान्छे र हात्तीबीच द्वन्द्व वर्षौंदेखि जारी छ । यसमा कहिले मान्छे मारिन्छन्, कहिले हात्ती । गएको आठ वर्षमा हात्तीको आक्रमणमा ३५ जना मारिए । मान्छेले थापेको विद्युतीय धरापमा परेर १० वटा हात्ती पनि मरे ।

गत बिहीबार मेचीनगर ९ को सामुदायिक वननजिकै एउटा हात्ती मृत भेटियो । घाँटीमा चोट देखिएकाले करेन्टका कारण हात्ती मरेको अनुमान वन कार्यालयका अधिकारीहरूले गरेका छन् । ‘करेन्ट लागेपछि रन्थनिएर खेतको दलदलमा फसी हात्ती मरेको हुन सक्छ,’ डीएफओ बोधराज सुवेदी भन्छन्, ‘कुनै बेला करेन्ट लागेर र कुनै बेला बूढो भएर मरेका छन् ।’ प्राय:जसो विद्युतीय झट्काकै कारण हात्ती मरेको उदाहरण छ ।

गत वर्ष जंगली हात्तीको आक्रमणबाट झापामा तीन जनाले ज्यान गुमाए । उनीहरू थिए, भद्रपुर १० का दुर्गाबहादुर कटुवाल (३५), बिर्तामोड ७ का लसुने मियाँ (७०) र बिर्तामोड ३ का च्यांग्रा राजवंशी (६५) । कटुवाललाई कात्तिक १४ तथा मियाँ र राजवंशीलाई फागुन १२ मा हात्तीले सिकार बनाएको थियो । तीनै जनालाई जंगलमा घाँसदाउरा गर्न गएका बेला हात्तीले आक्रमण गरेको थियो । हात्तीका कारण बर्सेनि करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति हुने गरेको सुवेदी बताउँछन् । उनका अनुसार पछिल्लो ५ वर्षमा सरकारले १ हजार ७ सयभन्दा बढी घरको क्षतिबापत करिब ३ करोड राहत रकम प्रदान गरेको छ ।

‘हात्तीका बाटामा बस्ती बस्दा द्वन्द्व’
बाहुनडाँगीका ढुण्डिराज पौडेललाई २०३७ सालअघि हात्तीले मान्छे मारेको सम्झना छैन । ‘त्यतिबेला बस्ती बाक्लो थिएन, हात्ती पनि आफ्नै बाटो आउँथे, जान्थे, बस्तीमा पस्दैनथे,’ पौडेल भन्छन्, ‘हात्ती आए पनि क्षति खासै हुँदैनथ्यो ।’ उनको अनुभवमा बस्ती बढ्दै गएपछि हात्ती हिँड्ने बाटामा मान्छे बस्न थाले अनि द्वन्द्व सुरु भयो । ‘हात्तीका बाटामा मान्छेले घर बनाए, हात्तीले आक्रमण गर्न थाल्यो । मान्छे मरेपछि मान्छेले हात्तीलाई बिच्क्याउन थाले । यसरी मानव(हात्ती द्वन्द्व बढ्न थाल्यो,’ उनले भने ।

हात्तीकै अध्ययनमा विद्यावारिधि गरेका नरेन्द्र प्रधानका अनुसार हात्तीको स्वभाव नै जति बिच्क्यायो, उति आक्रामक बन्ने हुन्छ । प्रधान भन्छन्, ‘मान्छेले घोच्ने, कुट्ने, हिर्काउने गर्न थालेपछि हात्ती द्वन्द्वमा उत्रिएको हो ।’ हात्तीलाई घाउचोट पुर्‍याउने गरी कुट्नु, पिट्नु र छावालाई आक्रमण गर्नु घातक हुन्छ । ‘छावामाथि खतरा देख्यो भने हात्तीले आक्रमण गर्छ,’ प्रधानको भनाइ छ । विज्ञहरू विद्युतीय तारबारले पनि हात्ती र मानिसको सम्बन्ध नसुध्रिने बताउँछन् । मानव(हात्ती द्वन्द्व न्यूनीकरणका लागि केही समय बाहुनडाँगीमा काम गरेका अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक ब्रिजेश थापा भन्छन्, ‘विद्युतीय तारबारले मानव(हात्ती द्वन्द्वको दीर्घकालीन समाधान हुँदैन ।’

मेचीपारि भारतको पश्चिम बंगालमा हात्तीको संख्या बढ्यो कि नेपालतिर हात्तीको आतंक बढ्न थालिहाल्छ । एक रिपोर्टका अनुसार पश्चिम बंगाल राज्यमा सन् १९८० ताका हात्तीको संख्या डेढ सय हाराहारी रहेकामा २०१२ मा ६ सय ६५ पुगेको थियो । विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रम संयोजक शान्तराज ज्ञवाली भारततिर हात्तीको संख्या बढ्दा त्यसको प्रत्यक्ष असर बाहुनडाँगीवासीले भोग्नुपरेको बताउँछन् ।

जिल्ला वन कार्यालयका अनुसार झापामा कम्तीमा ८ देखि बढीमा १३ वटा रैथाने हात्ती छन् । विद्युतीय धरापमा परेर मर्ने अधिकांश हात्ती भारतबाट आउने हात्ती हुन् । रैथाने हात्ती मरेको भेटिएको छैन । रैथाने हात्ती दक्षिण झापाको जलथलदेखि पूर्वोत्तर बाहुनडाँगीको बहुवनसम्म हिँडडुल गर्छन् । ‘यी हात्ती जलथल, पाँचपोखरी, बहुवन र चारआली जंगलतिरै फेरो लाएर बस्छन्,’ डीएफओ सुवेदीले भने, ‘आफू अघिल्तिर आउनेलाई आक्रमण पनि गरिहाल्छन् ।’