लिलाकान्त यादव,
काठमाडौं, १४ चैत्र ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ। सोम प्रसाद आचार्यको जस्ता र काठले बनेको गाईगोठमा राति करिब ११ः०० बजे बालेको आगो अचानक फैलिँदा आगलागी भएको हो।
आगलागीबाट गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने दुई तले सुत्ने घरमा पनि आंशिक क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब ११ः३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
घरधनी सोम प्रसाद आचार्य आगो निभाउने क्रममा हात, खुट्टा र शरीरमा सामान्य रूपमा घाइते भएका छन्।
आगलागीका कारण एक भैँसीको पाडा र दुई बाख्राको जलेर मृत्यु भएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार