भूपदेव माली
राजविराज, १६ चैत्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत भारदह– पोर्ताहा बजार क्षेत्रको सडकमा डुलिरहने छाडा पशु चौपायालाई नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय भारदहले प्रयास गरेको छ।
शनिबार भारदह तथा प्रताहा क्षेत्रका बजारस्थित सडकहरूमा छाडा चौपैयाहरुलाई प्रहरीले नियन्त्रणमा लिई अब उपरान्त सडकमा पशु चौपाया नछोड्ने चेतावनी दिँदै नियन्त्रण गर्न प्रयास गरिएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव काफ्लेको निर्देशमा इलाका प्रहरी कार्यालय भारदहका प्रणाली विश्वनाथ यादवको नेतृत्वमा खटिएका प्रहरीले सडकमा छाडा डुलिरहेका पशु चौपायाहरूलाई समातेर नियन्त्रणमा लिई अब उप्रान्त सडकमा कुनै पनि पशु चौपाया देखिएमा कानुन बमोजिम कारबाही गरिने सर्तमा पशुधनीलाई बुझाए।
यसरी नै भारदह बजारको पोर्ताहा स्थित सडकको पेटीमा जथाभावी सवारी साधनहरू रोकिराख्ने र सडकको पेटीमा कृषि बजार राखिने सवारी चालक र व्यापारीहरूलाई अब उपरान्त सडकको पेटीमा बजार तथा सवारी साधन नराख्ने चेतावनी दिँदै यदि यसो गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने समेत चेतावनी दिए।
सो कार्यक्रममा नगरका वडा नं ३ पोर्ताहाका जनप्रतिनिधिहरू, वडा नम्बर १ भारदका जनप्रतिनिधि, व्यापार संघका प्रतिनिधिहरू, बुद्धिजीवी एवं स्थानीय भर– भलादमीहरूको उपस्थिति रहेको थियो।