लिला कान्त यादव,
राजविराज, १७ चैत्र ।
सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका–४ नवटोलियामा चैत्र १६ गते बिहान करिब २ः०० बजे विद्युत सर्ट भई भीषण आगलागी भएको छ। बिरेन्द्र मुखियाको जस्ताले छाएको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट घरमा रहेका नगद, लत्ताकपडा, अन्नपात, फर्निचर, भाडावर्तन लगायत गरी करिब ३ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा कुनै मानविय तथा चौपाय क्षति नभएको जनाइएको छ।
प्रहरीचौकी कोबर्साइनमा बिहान ८ः०० बजे खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। आगलागी नियन्त्रणमा ल्याइए पनि ठूलो मात्रामा धनमालको क्षति भएको छ।
यसरीनै सप्तरीको खड्का नगरपालिका–४ आमहामा चैत्र १६ गते दिउँसो १३ः०० बजे आगलागी भएको छ। महिनारायण चौधरीकी श्रीमतीले आफ्नै खेतमा राखिएको गहुँको भूषमा आगो लगाउँदा उक्त आगो फैलिन गई स्थानीयको परालका टाल र दाउरामा समेत क्षति पुगेको छ।
आगलागीबाट ४८,००० रुपैयाँ बराबरको पराल र दाउरा जलेर नष्ट भएको छ। घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको जनाइएको छ।
स्थानीय बासिन्दा, शम्भुनाथ नगरपालिकाको दमकल, राजविराज नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली खटिएर संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
त्यसैगरी चैत्र १६ गते बिहान ९ः३० बजे सप्तरीको बोदेबर्साइन नगरपालिका–५ भाटिनमा आगलागी भएको छ। बिन्देश्वर पण्डितको खेतमा राखिएको परालको टालमा अचानक आगो लागेको थियो।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट प्रहरी टोली खटिएर, राजविराज नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो ९ः५५ बजे नियन्त्रणमा लिइएको छ।
आगलागीबाट ८,००० रुपैयाँ बराबरको पराल जलेर नष्ट भएको छ। घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको जनाइएको छ।
यसैगरी चैत्र १७ गते राति १ः०० बजे सप्तरीको हनुमाननगर कंकालिनी नपा–९ मा आगलागी भएको छ। राजकुमार शर्माले सञ्चालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पसल तथा भित्र रहेका विभिन्न इलेक्ट्रोनिक सामानहरू पूर्ण रूपमा जलेर १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगो पसलसँगै रहेको हरेराम रजक र गौतम शर्माको घरमा पनि सामान्य क्षति पुगेको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, स्थानीय बासिन्दा र नगरपालिकाको दमकलको सहयोगमा आगो १ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनाको अनुसन्धान तथा क्षतिको थप विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय हनुमाननगरबाट टोली खटिएको छ।